
104
फिक्कल (सिन्धुली) । पौषको चिसोले कठ्याङ्ग्रीएका सिन्धुलीको फिक्कल गाउँपालिका १ काउलेडाँडाका एक सय ५५ जना बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
कमलामाई नगरपालिका ६ सिन्धुलीमाढीमा रहेको भगवती अंग्रेजी माविले जिल्लाको दुर्गम क्षेत्र काउले डाँडाका विपन्न तथा दलित बालबालिकाहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग प्रदान गरेको हो ।
भगवती अंग्रेजी मावि र सो अन्तरगतको भगवती बाल क्लवको संयोजनमा फिक्कल गाउँपालिका १ काउलेडाँडा स्थित आधारभुत विद्यालयका १ सय ५५ जना बालबालिकाहरुलाई उक्त सहयोग प्रदान गरिएको हो ।
चिसो मौषममा न्यानो कपडा अभाव हुँदा विद्यार्थीहरु अध्ययनका लागि विद्यालय आउन छाडेको खबर थाहापाएपछि आधारभुत विद्यालयमै पुगेर १ सय ५५ जना विपन्न, दलित तथा जनजाती छात्र तथा छात्राहरुलाई ट्याक्सुट, कपी, पेन्सील लगायतका शैक्षिक सामाग्री प्रदान गरेको भगवती माविका अध्यक्ष संजय दाहालले बताए ।
‘उक्त आधारभुत विद्यालय जिल्लाको फिक्कल गाउँपालिकाकै अति दुर्गम क्षेत्रमा रहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर आलेमगरले न्यानो कपडा र शैक्षिक सामाग्री अभावका कारण विद्यार्थीहरु अध्ययनका लागि विद्यालयनै आउन छाडेको गुनासो गरेपछि आफुहरुले बाल क्लवसंग समन्वय गरेर विपन्न बालबालिकाहरुका लागि गाउँमै पुगेर सहयोग गरेका हौं,’ दाहालले भने ।
पुषको कठ्याङ्ग्रीदो चिसोका कारण बालबालिकाहरु समस्यामा नपरुन भनेर विद्यालयको बाल क्लवको समन्वयमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको भगवती माविका संस्थापक प्रिन्सिपल कृष्णकुमार उप्रेतीले थपे ।
उनले भने, ‘निजी विद्यालयहरु नाफा मुखीमात्र हुन्छन भन्ने भ्रम छ । तर हामी विगत ३० वर्षदेखि निरन्तर मेचिदेखि महाकालीसम्मका विपन्न, अनाथ, द्धन्द्धपिडित, बाढीपिढित, भुकम्प पिडितहरुलाई सहयोग गर्दै आएका छौं । त्यसैको निरन्तरतामा यो पटक यहाँका विपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री लिएर आएका हौं ।’
फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले भगवती माविको सहयोग प्रति अभार व्यक्त गर्दै पालिकाका दुर्गम क्षेत्रमा शिक्षक र विकास कम आउने भन्दै दुःख व्यक्त गरिन ।
‘पालिकामा विद्यार्थीको अनुपामा शिक्षक दरबन्दी पनि छैन । भएका शिक्षकहरु पनि सदरमुकाम र घरपाएक सरुवा भएर जाँदा पठनपाठनमै समस्या हुने गरेको छ,’ उनले थपिन, ‘यस्तो अवस्थामा पालिकाको मात्र प्रयासले सम्भव छैन । निजि विद्यालयहरुसंग भगिनी सम्बन्ध स्थापित गरेर सामुदायिक विद्यालयहरुको विकासमा समेत सहयोग पु¥याउन आफु तयार छु ।’
विद्यार्थीका अभिभावकहरु दैनिक ज्याल मजबुरी गर्दछन । माफ्नो कमाईले खान समेत समस्या हुने गरेपछि दुर्गम क्षेत्रका अभिभाकले बालबालिकाहरुलाई पुषको कठ्याङ्ग्रीदो चिसोमा समेत न्यानो कपडा किनिदिन सक्ने अवस्था नभएको बेला निजि स्तरको विद्यालयको सहयोगले ठुलो राहात पुगेको आधारभुत विद्यालयका प्रध्यानध्यापक सन्तोष आचार्यले बताए ।
भगवती अंग्रेजी माविका बालबालिकाहरुले आफ्नो खाजा खर्च कटाएर जम्मा गरिएको बाल क्लवको पैसामा विद्यालयले समेत थपेर झण्डै ३ लाख बराबरको शैक्षिक सामाग्री प्रदान गरेको हो ।
न्यानो कपडाका साथै शैक्षिक सामाग्री पाएपछि बालबालिकाहरु भने दंग परेका छन । उनिहरुले जाडोमा न्यानो कपडाए पाएको भन्दै खुसी व्यक्त गरे ।
जिल्लाकै उत्कृष्ठ भगवती माविले ३५ जना द्धन्द्धपिडित बालबालिका र २० जनाभन्दाबढी असहाय, अनाथ बालबालिकाहरुलाई उच्च माविसम्म निशुल्क पठनपाठन गराएको छ । विपन्न बालबालिकाहरुलाई वार्षीक २६ लाखबढीको स्कोलरसिप प्रदान गर्दै आएको छ । यस बाहेक सप्तकोशी बाढी पिडित, चितवनका बाढी पिडित, भुकम्प पिडित, अनाथ तथा विपन्न बालबालिकाहरुलाई राहात तथा शैक्षिक सामाग्री वितरण गरिसकेको छ ।