ग्वालटार । नेपाल रेडक्रस सोसाइटी ग्वालटार उपशाखाको प्रथम साधारण सभा सम्पन्न भएको छ । सिन्धुली जिल्लागको गोलन्जोर गाउँपालिका स्थित मंगलबार एक कार्यक्रमबीच साधारणसभा सम्पन्न भएको हो । साधरण सभाले स्थानीय युवा ओमकुमार कार्की (गौरव)को अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ ।

समितिमा जुनु केसी उपसभापति, दिपक थापा सचिव, कल्याण कार्की उपसचिव, सरोज पोख्रेल कोषाध्यक्ष, अनिता भण्डारी उपकोषाध्यक्ष, महिला सदस्यमा रञ्जना ढुङ्गेल तथा सदस्यहरूमा अमृत बहादुर सार्की, चित्र बहादुर बयलकोटी, नर बहादुर बलम्पाकी, सिताराम कार्की लगायतका रहेको नेपाल रेडक्रस सोसाईटी ग्वाल्टार उपशाखाका निर्वाचन अधिकृत पवन पाख्रीनले जनाउनु भयो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठको प्रमुख आतिथ्यता तथा गोलन्जोर गाउँपालिका वडा नं. ३, का अध्यक्ष तथा आजीवन सदस्य पुस्कर बरालको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा गोलन्जोर गाउँपालिका सामाजिक बिकास शाखा प्रमुख तिर्थ भण्डारीको विशेष आतिथ्यता रहेको थियो ।

यो संगै जिल्लामा रेडक्रसको ४० वटा उपशाखा गठन भएको छ । ग्वाल्टार उपशाखा ४० औं उपशाखा हो । ग्वाल्टारमा ४० औं स्थानमा ग्वालटार उपशाखा स्थापना भएकोमा खुसी व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष कार्कीले उपशाखाको स्थापना तथा कार्यक्रम सफलता पार्न सहयोग गर्नुहुने सबै स्थानीय तथा रेडक्रस कर्मिहरुमा हार्दिक आभार तथा धन्यवाद गर्नु भएको छ ।