सिन्धुली । सिन्धुली पश्चिममा रहेको हरिहरपुरगढी गाउँपालिकाका दुर्गम क्षेत्रमा सामुदायिक स्वास्थ्य इकाईहरु धमाधम स्थापना गर्न थालिएको छ ।
गाउँपालिकाले दुर्गम क्षेत्रका नागरिकहरुलाई गाउँमै स्वास्थ सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न वडाका ६ स्थानमा सामुदायिक स्वास्थ ईकाई स्थापना गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष कार्साङ लामाका अनुसार अहिले सम्म कुनै पनि सरकारी स्वास्थ्य संस्था नपुगेका दुर्गम क्षेत्रमा पालिकाकै लगानीमा स्वास्थ्य ईकाई स्थापना गरेको हो ।
‘हाम्रो पालिकामा जम्मा ८ वडाहरु रहेका छन् । ८ वटा वडाहरुमध्ये गाउँपालिकाले हालसम्म ६ वटा दुर्गम गाउँमा सामुदायिक स्वास्थ ईकाई स्थापना गरि नागरिकलाई स्वास्थ सेवा दिन सुरू गरेका छौं,’ उहाँले भन्नुभयो ।

केही स्वास्थ्य ईकाईहरु संचालनमा आईसकेका र केहीको यसै साताभित्र संचालनमा ल्याउने गरी काम भएको छ ।
अध्यक्ष लामाका अनुसार आदिवासी जनजाती तथा दलित समुदाय रहेका पालिकाका दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिक उपचार सेवा समेत नपाई रहेको अवस्था यस्तो स्वास्थ्य इकाई स्थापना पछि निक्कै राहत मिलेको छ ।
हरिहरपुरगढी गाउँपलिका १ को चिसापानी, बन्चरे, वडा नं. ३ को कुसदमार, वडा नं. ५ को भलाए, वडा नं. ६ को बेसीटोल र कौवा डाडा र वडा न. ७ को भुताहामा सामुदायिक स्वास्थ ईकाई स्थापना गरि नागरिकलाई स्वास्थ सेवा दिन सुरू गरेको गाउँपालिकाको स्वास्थ शाखा प्रमुख राजेश्वर शाहले थपे ।
‘चालू आर्थिक बर्षमा चार स्थानमा र गत आर्थिक बर्षमा तीन स्थानमा सामुदायिक स्वास्थ ईकाईको सेवा सुरू गरेपछि गाउँपालिकाले नै स्वास्थ्यकर्मी, औषधी, उपकरण लगायतको व्यवस्थापन गरिरहेको छ,’ शाहले भन्न्ुभयो ।

सामुदायिक स्वास्थ्य ईकाईमा विशेष गरी नागरिकलाई सामान्य उपचारात्मक सेवा, खोप सेवा, गर्भवती जाँच सेवा, झाडापखाला तथा न्यूमोनिया जस्ता रोगको सामान्य उपचार, परिवार नियोजन सेवा, स्वास्थ्य सम्वन्धी राष्ट्रिय कार्यक्रमहरु जस्तैः क्षयरोग, कुष्ठरोग, औलो, हात्तिपाईले आदिको उपचार सेवा र स्वास्थ्य सम्बन्धि परामर्श तथा सल्लाह लगाएतका सेवा दिईने गरिएको गाउँपालिकाकी उपाध्यक्ष अनिता कुमारी राईले बताउनु भयो ।
सोमबार गाउँपालिकाकै विकट मानिएको वडा नं. १ को चिसापानीमा सामुदायिक स्वास्थ्य ईकाईको समुदघाटन गर्ने क्रममा उपाध्यक्ष राईले थप्नुभयो, ‘कुनै पनि स्वास्थ्य संस्था नभएका दुर्गम गाउँका नागरिकले आधारभुत स्वास्थ्य सेवा गाउँ टोलमै पाउन भनेर सामुदायिक स्वास्थ ईकाई स्थापना गरेका हौं ।’

उपाध्यक्ष राईका अनुसार पालिकाले सामुदायिक स्वास्थ्य ईकाइका लागि आवश्यक पर्ने भवनहरु समेत आफै निर्माण थालेको छ ।
हरिहरपुरगढी गाउँपालिका १ का वडाअध्यक्ष कारसाङ घलानको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष कारसाङ लामा, उपाध्यक्ष अनिता कुमारी राई, वडा सदस्यहरु, राजनितिक दलका नेताहरुको उपस्थिती रहेको थियो ।
