विशाल शंकर
सिन्धुली ८, जेठ । बैकल्पीक उर्जाको व्यवस्था नहुँदा सिन्धुलीमा रहेको अक्सिजन प्लान्ट सन्चालन गर्न नै समसया भएपछि अग्नी ग्रुपले १०० केभिएको जेनेरेटर सहयोग गरेको छ ।
कमलामाई नगरपालिका ६ शिवनगरमा रहेको कोभिड अस्पतालको अक्सिजन प्लान्टलाई महिन्द्राको युटिलिटी भेइकल्स, ट्रयाक्टर तथा महिन्द्रा पाओरल डिजेल जेनेरटरहरुका आधिकारिक विक्रेता अग्नि ग्रुपले झण्डै १४ लाख रुपैयाँ मुल्यको १०० केभिए जेनेरटर सहयोग हस्तान्तरण गरेको हो ।
सिन्धुली अस्पताले संचालन गरेको कोरोना युनिट अस्पतालमा विजुली वत्ती नहुँदा अक्सिजन प्लान्ट बन्द हुने गरेको थियो । बत्तीकोे अभावमा अक्सिजन नहुँदा कोभिड–१९ का संक्रमितहरुको मृत्यु हुने गरेको थियो ।
नयाँ भेरीयन्टको कोरोना देखिएलगतै अस्पातलहरुमा बिरामीको चाप बढेको त्यसमाथि बारम्बार बत्ती जाने आउने समस्याले सिन्धुलीको अस्पातलमा समस्या देखिएपछी अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले सिन्धुलीमै आएर शनिवार जेनेरटर हस्तान्तरण गरेका हुन् ।
गत वर्ष पहिलो चरणको कोभिड महामारीका बेला सिन्धुलीमा ५० वेडको कोभिड अस्पताल निर्माण गरिएको थियो । उक्त अस्पतालमा अक्सिजन प्लान्ट नै उत्पादन गरेर संचालनमा ल्याइएपनि बैकल्पीक उर्जाको समस्या भएको थाहापाएपछि सहयोग गरिएको अग्नी ग्रुप अन्तर्गतको सिन्धुली स्थित अग्नी इन्कोर्पेरेटेड प्रालिका थ्रीएस सेटअप बिक्री शाखाका सेल्स इन्चार्ज उद्वप राउतले बताए ।
‘अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले दैनिक रुपमा अस्पातलमा बत्ति जाने समस्या रहेको भन्दै सहयोगका लागि आह्वान गर्नु भएपछि हामीले पनि सामाजिक दायित्वबोध गर्दै जेनेरेटर सहयोग गरेका हौं,’ उनले भने ।
उता जेनेरेटर पाएपछि अव अस्पतालमा नियमित अक्सिजन संचालनमा आउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए ।
‘सिन्धुलीमा एक वर्ष अघि नै अक्सिजन प्लान्ट स्थापना गरिएको भएपनि अस्पतालमा बैकल्पीक उर्जाको व्यवस्थापन गर्न सकिएको थिएन । यो संकटको घडीमा अग्नी ग्रुपले ठुलो सहयोग गरेको छ । अव अस्पतालमा अक्सिजन अभावमा कोही मर्नु पर्दैन,’ पाखरेलले भने ।
यस प्लान्टले प्रति मिनेट ६० लिटर अक्सिजन उत्पादन गर्न सक्दछ । अस्पतालका ४७ वटा वेडमा अक्सिजन फिट गरिएको छ । ठुला व्यक्तिका लागि तिन वटा र सानो बच्चाका लागि एक वटा गरि जम्मा चारवटा भ्यान्टीलेर समेत संचालन गरिएको अस्पतालका अध्यक्ष पोखरेलले बताए ।
