सिन्धुली ३०, बैशाख । कोरोना भाईरस (कोभिड–१९) को त्रासका विच लकडाउन हुँदा रोजगार गुमाएकाहरुलाई राहतको सट्टा काम दिइने भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिकाले दैनिक ज्याल मजदुरी गर्नेहरुलाई काम दिने भएको हो ।
लकडाउनका कारण रोजगारी गुमाउन बाध्य मजदुरहरुलाई राहतको सट्टा काम दिन लागिएको उक्त गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दासले जानकारी दिए । ‘श्रम गर्न चाहनेहरुलाई वडा कार्यालयको सिफारीसका आधारमा कम्तीमा तिन दिनको काम दिन लागिएको छ,’ उनले भने ।
‘गाउँपालिकाले नेपाल सरकार तथा अन्तराष्ट्रिय सरकारी सेवाको करार वा स्थायी प्रकृतिको रोजगार, पेन्सन लिइ रहेका, समामाजिक सुरक्षा प्राप्त गर्ने ब्यक्ति, सामाजिक रुपमा प्रतिष्ठित तथा आर्थिक रुपमा सम्पन्न व्यक्तिहरुले भने यस कार्यक्रममा सहभागी हुन नपाउने गरि निर्णय गरेको छ,’ सुन्दासले भने ।

गाउँपालिकाका विपन्न तथा श्रमिक मजदुरहरुलाई कम्तीमा तिन दिन गाउँपालिकाको आयोजनका काम लगाइने छ । ‘त्यस्तो काममा संलग्नहरुलाई प्रचलित ज्याला दररेट बमोजिम अदक्ष कामदारले प्राप्त गर्ने पारिश्रमिक कायम गरि सो बराबरको राहात सामाग्री (जिन्सी) उपलब्ध गराउने निर्णय गरिएको हो,’ उनले भने ।
यसका लागि वडामार्फत बैशाख ३१ गते सम्ममा श्रमिक कामदारको नामावली संकलन गर्ने र त्यस पछि काम दिईने बताइएको छ । गाउँपालिकाले असक्तहरुको हकमा भने वडा कार्यालय तथा गाउँपालिकाको समन्वयमा आएकाहरुलाई तत्कालै राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको गाउँपालिकाकी अध्यक्ष दिपा बोहोराले जानकारी दिइन् ।