सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–५ नारिमखोलामा सुनकोसीको पानिलाई लिफ्ट गरेर खानेपानी र सिंचाईको व्यवस्था मिलाइएको छ ।
फिक्कल गाउँपालिकाको १२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको लिफ्ट आयोजनाबाट दैनिक ४० हजार लिटर पानि सुनकोसीबाट तानेर नारिमखोलामा पु¥याइएको उक्त गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले जनाए ।
‘लिफ्ट आयोजनाबाट ४० घरधुरीलाई खानेपानी र ४५ घरधुरीको १३ रोपनी जमिनमा सिंचाई सुविधा पुगेको छ,’ कार्कीले भने ।

सुनकोसी नदीको पानी लिफ्ट मार्फत संकलन गर्न ५.५ किलोवाट क्षमताको सोलार जडान गरिएको छ ।
लिफ्ट आयोजना केन्द्रिय बिद्युत प्रसारण लाईन नपुगेको सिन्धुलीको अतिदुर्गम नारिमखोलामा गिभ पावर पाउण्डेसनको सहकार्य तथा १८ जना अमेरिकन भोलेन्टर बिद्यार्थीहरुको सहयोगमा निर्माण सम्पन्न गरिएको गाउँपालिकाका प्रवक्ता राजु बरालले जनाए ।
सिंचाईको समस्या भएको अन्य स्थानमा पनि लिफ्ट बाट सुनकोसीको पानीतानेर गाउँपालिकाले सिंचाईको ब्यबस्थागर्ने योजना बनाएको प्रवक्ता बरालको भनाई छ । फिक्कल गाउँपालिकाको उच्च क्षेत्र सुख्खा क्षेत्र हो ।